जलवायु परिवर्तनको असरः सुदूरपश्चिममा बाह्रै महिना डेङ्गुको सङ्क्रमण बढ्दो

धनगढी । पहिले गर्मी र वर्षाको समयमा मात्र देखिने डेङ्गु रोग अब सुदूरपश्चिममा वर्षभरि नै देखिन थालेको छ। जलवायु परिवर्तनका कारण लामखुट्टेको जीवनचक्रमा आएको परिवर्तनले डेङ्गुको जोखिम बढाएको छ।

सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार तापक्रमको असमान वृद्धिदेखि वर्षा चक्रको अनियमिततासम्मले डेङ्गुको प्रकोप बढाएको छ। “पहिला चिसो महिनामा डेङ्गु देखिदैनथ्यो, अहिले हिउँदको समयमा पनि सङ्क्रमण देखिन थालेको छ,” उनले बताए।

सन् २०२५ को जनवरीदेखि जुनसम्म सुदूरपश्चिमका नौ जिल्लामध्ये आठ जिल्लामा कुल १६७ जना डेङ्गु संक्रमित फेला परेका छन्। डडेल्धुरामा ३४, कैलालीमा ३१, कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङ र बाजुरामा ११/११ र दार्चुलामा २ जना डेङ्गु संक्रमित भेटिएका छन्। बैतडी जिल्लामा भने हालसम्म संक्रमित भेटिएको छैन।

विशेषज्ञहरूका अनुसार एडिस एजिप्टाई जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो रोग अब मौसम अनुसार मात्र सीमित नरहने देखिएको छ। पानी जम्ने ठाउँ, प्लास्टिकजन्य फोहर र सरसफाइको कमीले लामखुट्टे प्रजननको अनुकूल वातावरण बनेको बताइएको छ।

शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले “गर्मी र वर्षाको समयमा संक्रमण फैलिने सम्भावना धेरै हुने भएकाले सरसफाइ र जनचेतना अत्यन्त जरुरी छ,” भने। स्वास्थ्यकर्मीहरूका अनुसार लामो कपडा लगाउने, झुलको प्रयोग गर्ने, पानी जम्न नदिने र साप्ताहिक सरसफाइ गर्नेजस्ता उपायहरूबाट डेङ्गुको जोखिम घटाउन सकिन्छ।

जनस्वास्थ्यविद्हरूले जलवायु अनुकूल सरसफाइ रणनीति बनाई लामखुट्टेका लार्भा नष्ट गर्ने तथा विद्यालय र समुदायमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै