
कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।
प्रदेशसभाबाट गत जेठ १९ गते पारित भएको सो विधेयक आइतवार (असार १६) प्रमाणीकरण भएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिए।
उनका अनुसार असार १२ गते विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पुगेको थियो। तीन दिनको अध्ययनपछि प्रदेश प्रमुख मियाँले विधेयकमा हस्ताक्षर गरेका हुन्।
यो विधेयकसँगै अब सुदूरपश्चिम प्रदेशभित्र रहेका स्थानीय तहका कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनका लागि स्पष्ट कानुनी आधार तयार हुने अपेक्षा गरिएको छ।
संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा कर्मचारी व्यवस्थापनसम्बन्धी कानुनको खाँचो रहँदै आएकोमा सो विधेयक प्रदेशसभामा लामो समयदेखि विचाराधीन रहेको थियो। विधेयक प्रमाणीकरण भएसँगै प्रदेशका स्थानीय तहमा जनशक्ति व्यवस्थापन थप व्यवस्थित हुने विश्वास लिइएको छ।