
धनगढी, कैलाली । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा एकदिने लु तातोहावाको लहर (हीट वेभ) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिकाका १९ वटै वडाबाट सहभागी भएका ५३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा तातोहावाको असर, लक्षण र पूर्वतयारीका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरियो। सहभागीहरूलाई गर्मी लहरको समयमा अपनाउनुपर्ने सतर्कता, प्राथमिक उपचार विधिहरू तथा जोखिम न्यूनीकरणका उपायहरूमा प्रशिक्षण दिइयो।
कार्यक्रमको अध्यक्षता रेडक्रस कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले गर्नुभयो। प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका नगर उप–प्रमुख कन्दकला कुमारी राना रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा रेडक्रस सुदूरपश्चिम प्रदेश अध्यक्ष दिलबहादुर बुढा सहभागी हुनु भएको थियो।
प्रशिक्षकहरूले सुत्केरी, बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगीहरूमा देखिन सक्ने जोखिमबारे चेतना दिलाउँदै, सामुदायिक तहमा पूर्वतयारी र सहजीकरणका उपायहरूबारे पनि जानकारी गराएका थिए।
सहभागी स्वयंसेविकाहरूले तालिमबाट प्राप्त ज्ञानलाई समुदायमा विस्तार गर्दै गर्मीको जोखिममा परेका व्यक्तिहरूलाई प्राथमिक सहायता पुर्याउने प्रतिबद्धता जनाएका छन्।
रेडक्रस शाखा विकास अधिकृत नरेन्द्र भट्टका अनुसार, यस्ता कार्यक्रमहरू अन्य पालिकामा पनि सहकार्यमा सञ्चालन गर्ने योजना रहेको छ।