धनगढी ।धनगढी उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित गरिएको छ। आइतबार आयोजित एक विशेष कार्यक्रममा उपमहानगरलाई यो उपाधि प्रदान गरिएको हो।
स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार २०८१ फागुनदेखि २०८२ वैशाखसम्म गरिएको घरधुरी सर्वेक्षणको आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। सर्वेक्षणमा १६ देखि ५९ महिनासम्मका ८,२१० जना बालबालिका पहिचान गरिएको थियो। तीमध्ये कुनै पनि खोप नलगाएका बालबालिका ५ जना मात्र थिए भने ५९ जना ड्रपआउट भएका थिए।
यसबाहेक ती सबै बालबालिकालाई १५ महिनाभित्र प्राप्त हुनुपर्ने सम्पूर्ण खोपहरू लगाइएको छ, जसका आधारमा पूर्ण खोप सुनिश्चितता पुगेको घोषणा गरिएको हो।
स्वास्थ्य शाखाका अनुसार सबै वडाका बालबालिकाले खोप प्राप्त गरिसकेपछि प्रत्येक वडालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणपत्र प्रदान गरिएको छ।
यो अभियानले नगर भित्र बालबालिकाको स्वास्थ्य सुरक्षामा ऐतिहासिक उपलब्धि हासिल गरेको बताइएको छ।