सडक स्तरोन्नतिले बदलिँदै धनगढीको रूप, स्मार्ट बत्ती र हरियालीले बन्यो आकर्षक सहर

धनगढी, सुदूरपश्चिम । पछिल्ला केही वर्षयता सडक पूर्वाधारको तीव्र स्तरोन्नतिसँगै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी सहरको स्वरुप परिवर्तन हुँदै गएको छ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत करिब १० किलोमिटर सडक पक्की नाली, फुटपाथ र सुरक्षात्मक फलामे बारसहित स्तरोन्नति गरिएको छ। सहिद गेटदेखि क्याम्पस, गुल्मदेखि चर्च, मालपोत सडक, कैलाली पुलदेखि ट्राफिक चौराहा, डिभोटी होटेलदेखि दाहाल टोलसम्मको सडक स्तरोन्नति भइसकेको छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित आयोजनामार्फत सडकमा स्मार्ट स्ट्रिट लाइट, हाइमास्ट लाइट, फ्लड लाइट र स्ट्रिपलाइट जडान गरिँदा “उज्यालो धनगढी” अभियानले झनै आकर्षण थपेको छ। रङ्गीविरङ्गी बत्तीले सजिएको सडकमा साँझपख टिकटक बनाउने र तस्बिर खिच्ने युवाको भिड देखिन थालेको छ।

धनगढी उपमहानगरपालिका–७ पटेलामा एकीकृत फोहरमैला व्यवस्थापन योजना पनि एक अर्ब २५ करोड लागतमा अघि बढाइएको छ। यस्तै, अत्तरिया, झलारीपिपलाडी र भीमदत्तनगरमा समेत सडक स्तरोन्नति, भवन निर्माण र फोहर व्यवस्थापनका काम भइरहेको छन्।

प्रदेश सरकारको बजेटमार्फत कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक स्तरोन्नति भइरहेको छ भने मनोहरा खोला र मोहना नदीमाथि पुल निर्माणाधीन छ। मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको १४.२ किमी सडक खण्ड छ लेनदेखि आठ लेनसम्मको रूपमा निर्माण भइसकेको छ।

यस आयोजना अन्तर्गत सडक मिडियनमा फूलबिरुवा र दायाँबायाँ दुई मिटर चौडा फुटपाथ निर्माण गरिएका छन्। गेटा–अत्तरिया सडक खण्ड एक अर्ब ७८ करोडको लागतमा सम्पन्न भएको हो।

तर, भौतिक विकास भएपनि कतिपय ग्रामीण वडाहरू अझै आधारभूत सेवा–सुविधाबाट वञ्चित छन्। विकास शक्ति र पहुँचवालाका वडामा मात्रै केन्द्रित भएको गुनासो पनि नागरिकबाट उठ्न थालेको छ।

विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिका पछिल्लो वर्षहरूमा गाभिएका गाविसहरूसहित उपमहानगर बनेको हो। स्थानीय यज्ञराज भट्ट भन्छन्, “झिलिमिली बत्ती र व्यवस्थित सडकले धनगढी अब कुरुप र फोहोर सहर रहेन। धनगढी बदलिएको छ।”

धनगढीलाई सुन्दर र हराभरा बनाउन उपमहानगरले “हरियाली धनगढी अभियान” सञ्चालन गर्दै सार्वजनिक स्थल र सडक किनारमा वृक्षारोपण गरिरहेको छ। विकासको लहरले धनगढीलाई व्यवस्थित, सुरक्षित र रमणीय सहरमा रूपान्तरण गर्न थालेको छ।

Ask ChatGPT

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै