
धनगढी । २१२औँ भानु जयन्तीको अवसरमा चैतन्य पाठशालाले आयोजना गरेको अन्तर विद्यालय कविता वाचन प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा धनगढी क्षेत्रका १४ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमको अध्यक्षता चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले गर्नुहुन्छ भने प्रेरक उपस्थितिका रूपमा महाकाव्यकार मणिराज जोशीको उपस्थिति रहेको थियो।
कविता प्रतियोगितामा डिलाईट इङ्लिस बोर्डिङ स्कुलकी छात्रा जेनिसा जोशी प्रथम, डिस्कोभरि स्कुलकी प्राप्ति बस्नेत द्वितीय, दुर्गा लक्ष्मी मावि अत्तरियाकी सन्ध्या अवस्थी तृतीय तथा विलक्षण पौडेलले सान्त्वना स्थान हासिल गरेका छन्। विजयीहरूलाई क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
निर्णायक मण्डलमा साहित्यकार कोपिला शर्मा ‘कल्प’, संस्कृत शिक्षक आनन्द प्रसाद बिनाडी र राम प्रसाद भण्डारी रहेका थिए।
कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक कटक ब. सिंहले नेपाली भाषा र साहित्यको संरक्षण सबैको साझा जिम्मेवारी रहेको बताए। महाकाव्यकार मणिराज जोशीले विद्यार्थीको प्रस्तुति देखेर साहित्यप्रतिको मोहप्रति आशावादी रहेको धारणा राखे।
कार्यक्रमको अन्त्यमा अध्यक्ष जोशीले भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै यस्ता साहित्यिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।