धनगढी, कैलाली — धनगढी उपमहानगरपालिका–४ स्थित नाष्ट कलेज नजिक गए राति करिब १०:५० बजे भीषण आगलागी भएको छ। आगो सेन्टर पोइन्ट रेस्टुरेन्ट, हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्फेक्ससहित आठ वटा सटरमा फैलिँदा सम्पूर्ण पसलहरू जलेर नष्ट भएका छन्।
स्थानीय व्यापारी विश्व प्रकाश कडेलद्वारा सञ्चालित ती सटरहरूमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनाको जानकारी मिल्नासाथ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाको नेतृत्वमा नेपाल प्रहरीका ४५ जना र सशस्त्र प्रहरी निरीक्षक सरोज खतिवडाको कमाण्डमा २५ जना सशस्त्र प्रहरी आगो नियन्त्रणमा खटिएका थिए।
धनगढी उपमहानगरपालिकाका दुईवटा र गोदावरी नगरपालिकाको एकवटा दमकलसहित स्थानीयवासी तथा सुरक्षाकर्मीको सक्रिय सहयोगमा आगो राति १२:१० बजे नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।