
धनगढी – लामो समयदेखि सडक मानव, बेवारिसे मानसिक रोगी तथा विपन्न बालबालिकाको उद्धार तथा संरक्षणमा समर्पित दृष्टि फाउन्डेसनले अब बेसहारा वृद्ध आमाहरूका लागि छुट्टै सेवा शाखा सञ्चालन गर्ने भएको छ।
फाउन्डेसनकी संचालक कल्पना भट्टका अनुसार उद्धार गरिएका केही वृद्ध आमाहरू मानसिक रोगी नभई अशक्त र बेसहारा थिए। मानसिक रोगीहरूसँग बस्दा उनीहरू गाली–गलौज र कुटपिटको सिकार बन्न थालेपछि छुट्टै संरक्षित आश्रयको आवश्यकता देखिएको हो।
तर, नयाँ शाखा सञ्चालनका लागि आवश्यक घरभाडा तथा व्यवस्थापन खर्च जुटाउन चुनौती थियो। यसबारे समाजसेवी लोकराज पाण्डेयमार्फत अमेरिकामा रहेका समाजसेवी रामबहादुर देउवासम्म जानकारी पुग्यो। देउवाले केही दिनमै मनकारी नेपालीहरूलाई समेटेर ‘दृष्टि फाउन्डेसन सहयोगी समूह’ गठन गरे।
यो समूहमा रामबहादुर देउवा, उपेन्द्र भट्ट, नवीन ओझा, गणेश विष्ट (क) र गणेश विष्ट (ख) लगायतका समाजसेवीहरू सक्रिय छन्। समूहले वृद्ध आमाहरूका लागि सञ्चालित आश्रमको एक वर्षसम्मको घरभाडा र व्यवस्थापन खर्च बेहोरिने प्रतिबद्धता जनाउँदै मासिक ७१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
फाउन्डेसनले पहिलो महिनाको सहयोग रकम पनि प्राप्त भइसकेको जानकारी दिएको छ।
संचालक भट्टले भनिन्, “यो सहयोगले सडकमा बेसहारा अवस्थाबाट उद्धार गरिएका वृद्ध आमाहरूलाई सुरक्षित आवासमा राख्ने हाम्रो लक्ष्यलाई थप बल मिलेको छ। अझ धेरै सहयोगदाताको साथ आवश्यक छ।”
फाउन्डेसनको यो अभियानले सुदूरपश्चिममा सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण पेश गरेको छ।