साउन १५ मा खीर खाएर मनाइँदै, पौराणिक परम्परासँग जोडिएको स्वास्थ्यप्रद चलन

धनगढी । साउन १५ को अवसरमा देशभर आज खीर खाएर यो दिन विशेष रूपमा मनाइँदैछ। वर्षा ऋतुको मध्य समय मानिने साउन महिनामा दूधजन्य परिकार विशेष गरेर खीर खाने नेपाली परम्परा प्राचीनकालदेखि प्रचलनमा रहेको छ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार संस्कृत भाषामा ‘पायस’ भनिने खीरलाई सात्विक आहारमध्ये उत्तम मानिन्छ र पितृकार्य एवं देवपूजामा समेत यसको विशिष्ट स्थान छ।

गौतम भन्छन्, “साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिएको हुन्छ, घाँस प्रशस्त पाइने भएकाले गाई–भैंसीले बढी दूध दिने गर्छन्। दूध बढी भएपछि इष्टमित्रलाई बोलाएर खीर खुवाउने परम्परा बसेको हो।” साथै शिवजीलाई दूध र दूधजन्य परिकार प्रिय भएकाले साउन महिना र खीरको सम्बन्ध धार्मिक रूपमा समेत देखिन्छ।

वर्षेनी असार १५ मा दही च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घीउ खट्टे, माघ १५ मा मालपुवा बनाएर छोरीचेली र आफन्तलाई बोलाएर खुवाउने नेपाली सांस्कृतिक परम्परा रहेको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले पनि साउन १५ लाई ‘खीर खाने दिन’ अर्थात् खीर दिवस का रूपमा मनाउने गरेको छ। नेपाली बृहत् शब्दकोशले खीरलाई ‘दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ’ भनी परिभाषित गरेको छ।

स्वास्थ्यको दृष्टिकोणले पनि खीर पौष्टिक हुने भएकाले आजको दिन परिवारजन, आफन्त र छिमेकीहरूसँग खीर खाएर उत्सवको रूपमा मनाउने चलन दिनानुदिन व्यापक बन्दै गएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै