
धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार गरेका छन्। मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेशका विभिन्न वन अधिकारकर्मीहरुले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रमका दौरान फूलबारी खबरका पत्रकार यज्ञराज अवस्थीलाई सचिव कोइरालाले हप्काउँदै टेबुलमा राखिएको ‘बुम माइक’ समेत धकेलेका हुन्।
पत्रकार अवस्थी समाचार संकलनका लागि कार्यक्रममा खटिएका थिए। सचिव कोइरालाले “आवाज रेकर्ड गर्नु पर्दैन” भन्दै आवाज उच्च बनाएर हप्काएको र माइक पनि हातले पर सारिदिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। सचिव कोइरालाले “मैले बोलेको सबैले सुनिएकै छन्, माइक नै तेर्साएर किन रेकर्ड गर्नुपर्यो” भन्ने प्रतिक्रिया दिएका थिए।
वन अधिकारकर्मी तथा एनफेकोफनका केन्द्रीय महासचिव डण्डीराज सुवेदीले सचिव कोइरालाको व्यवहार पदको गरिमासँग मेल नखाने बताए। “पत्रकारले टेबुलमा राखेको बुम माइक सचिवले धकेलिदिए, यस्तो गरिमामय पदमा बसेको व्यक्तिबाट यस्तो व्यवहार शोभनीय छैन,” सुवेदीले भने।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा सचिव कोइरालाले पत्रकारप्रति देखाएको व्यवहार प्रत्यक्ष देखेका अधिकारकर्मीहरुले समेत आपत्ति जनाएका छन्। सचिव कोइरालाले पछि प्रतिक्रिया दिंदै “अब यस्तो नगर्ने” भनेका छन्।