धनगढी । सहर व्यवस्थापनको जटिल चुनौती बनेको फोहर व्यवस्थापनका क्षेत्रमा धनगढी उपमहानगरपालिकाले अघि सारेको अभ्यासलाई अनुकरणीय मानिएको छ। पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीच फोहर व्यवस्थापनसम्बन्धी अनुभव साटासाटका क्रममा यसलाई विशेष गरी प्रशंसा गरिएको हो।
धनगढीले एकपटक प्रयोग हुने प्लास्टिकमा प्रतिबन्ध लगाउँदै फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। उपमहानगर प्रमुख गोपाल हमालका अनुसार पालिकाले सडक, पुल वा भवन नभई सरसफाइ र फोहर व्यवस्थापनलाई गौरवको योजना बनाएको छ।
नगर प्रमुख हमालले व्यक्तिहरूमा फोहर नगर्ने बानीको विकास हुन सके जटिलता न्यून हुने बताए। उपमहानगरको वातावरण शाखाका अधिकृत अशोक अवस्थीले फोहरबाट बायोग्यास उत्पादनदेखि प्रशोधनमार्फत अन्य वस्तु उत्पादन गर्ने तयारी भइरहेको जानकारी दिए।
हाल धनगढीमा घरघरमै ९५ प्रतिशत फोहर वर्गीकरण गरेर ल्याइने गरेको छ भने अस्पतालजन्य फोहर व्यवस्थापनका लागि छुट्टै संरचना तयार गरिएको छ। सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याइएकाले फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउन थप सहज भएको अधिकृत अवस्थीले बताए।
यसैबीच पोखरा महानगरपालिकाले कोरियन सहयोग नियोग (KOICA) को आर्थिक सहयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को प्राविधिक सहयोगमा ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सृजना परियोजना’ सञ्चालन गरिरहेको छ।
सहजकर्ता नेत्र तिमिल्सिनाका अनुसार परियोजनाले चक्रीय अर्थतन्त्रमा आधारित उद्योग स्थापना, हरित रोजगारी प्रवद्र्धन तथा प्रदूषण न्यूनीकरणमा योगदान पुर्याइरहेको छ। हाल पोखराका १३६ टोलमा सचेतना र अभियान सञ्चालन भइरहेको छ।
अवलोकन भ्रमणमार्फत स्थानीय तहबीचको अनुभव आदानप्रदानले दीगो फोहर व्यवस्थापन र वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।