
धनगढी । धनगढी उपमहानगरपालिकाले माघ १९ गतेदेखि २८ गतेसम्म फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका दर्शकहरूको सुविधा सुनिश्चित गर्न सहुलियत दरमा नगर बस सेवा सञ्चालन गर्ने भएको छ।
धनगढीको क्याम्पस रोडदेखि मुख्य सडक भएर एउटा रुटमा र क्याम्पसचोकदेखि मुख्य सडकको बाहिरी क्षेत्र हुँदै अर्को रुटमा बस सेवा उपलब्ध हुनेछ। नगर बस प्रत्येक २० मिनेटमा सञ्चालन हुने गरी योजना बनाइएको छ।
स्वर्गीय अर्जुन खड्काको सम्झनामा आयोजना गरिने अर्जुन ट्रफी टी-२० प्रतियोगितामा ८ क्लबका टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा २० लाख नगद पुरस्कार प्रदान गरिने छ। विजेताले १० लाख, उपविजेताले ५ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन्। सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीलाई जनही ५० हजार, तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ।
उपमहानगरपालिकाको यस निर्णयले दर्शकलाई खेलमैदानसम्म पुग्न सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।